कुखुराका चल्लाझैँ पछिपछि कुदे विपक्षीहरू : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताउनुभएको छ । आज पोखरामा नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताउनु भएको छ । संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले विपक्षी दललाई कुखुराको चल्लासंग तुलना गर्दै भन्नुभयो, ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन्। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छर्न निकै तल्लिन रहेका छन्न । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने, किन यस्तो भइरहेको छ ?’ संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नु पर्नेमा पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागी परेको उहाँले बताउनुभयो ।