जेष्ठ ९, २०८२ बिहीबार

नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् । ’मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ ओलीले नेकपाकै एक सदस्यलाई फोन गरेर भनेको सचिवालयकै एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताएका थिए ।

’पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ,’ प्रवक्ता श्रेष्ठले भनेका थिए ।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बैठकले सर्वसम्मतरूपमा गरेको पार्टी महासचिव विष्णु पौडेलले पनि लोकान्तरसँग बताए ।

’आजको बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल विघटन गर्ने र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय सर्वसम्मत गरेको हो,’ महासचिव पौडेलले भने ।

पार्टीको निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि सत्तारुढ दल नेकपामा ठूलै भिडन्तको संकेत देखिएको छ ।

लोकान्तरबाट साभार

प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]