कौडाको अड्डामा बिर्तामोड प्रहरीको छापा : ६ जना व्यापारी पक्राउ
बिर्तामोड । झापाको बिर्तामोडमा लामो समयदेखि जुवा खेलाइरहेको ठाउँमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा मारेको छ । छापाका क्रममा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा छापा मारेर प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले घटनाको पुष्टि गर्दै ६ जना पक्राउ परेको जानकारी दिए ।
बिर्तामोडका प्रतिष्ठित व्यवसायीहरु जुवाखालमा भेटेपछि प्रहरी आएको थाहा पाउनासाथ जुत्ता चप्पल छोडेर भागेका थिए । उनीहरुले प्रयोग गरेको एउटा गाडी र सात वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जुवाखालबाट नगद नेपाली ९८ हजार र भारतीय एक हजार रुपैयाँ बरामद भएको डीएसपी रिजालले जानकारी दिए । नियमित कौडा खेलिने गरेको सूचनाका आधारमा प्रहरी लिम्वूको घरमा खानतलासी गर्न आज साँझ पुगेको थियो । डीएसपी रिजालले बिर्तामोडका सबै जुवाखालमा प्रहरी पुग्ने र कारवाही गर्ने जनाएका छन् ।