बैशाख २७, २०८२ शनिबार

‘प्रहरी मेरो साथी’ ! बच्चा बोकेकी महिलालाई पुरूष इन्स्पेक्टरले हाने लाठी (हेर्नुस् भिडियो)

काठमाडौं, १६ फागुन । नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

शुक्रबार ललितपुरको भैंसेपाटीमा प्रहरीका एक उच्च अधिकारीले एक बच्चा बोकेकी महिलामाथि गरेको ज्यादतीले प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराकै धज्जी उडाएको छ । प्रहरीका जवानले नभई प्रहरीको एक जिम्मेवार इन्स्पेक्टरले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृष्यले प्रहरी संगठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ । प्रहरी इन्सपेक्टरले बच्चा बोकेकी महिलालाई लाठीले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर अगाडि बिहीबार दिउँसो केही महिला जम्मा भएका थिए । एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर, उनले आफूलाई श्रीमती स्वीकार्न अस्वीर गरेको भन्दै सहयोगी लिएर उनको घर गएकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घर अगाडि ‘धर्ना’ दिइरहेकी स्थानीयले जानकारी दिएका छन् ।

घर बाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे । केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे । घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरुष प्रहरी पनि गएका थिए । प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो । नमानेपछि बल प्रयोग गर्‍यो ।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए । उनले एक महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियोले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको बताएका छन् । यता इन्स्पेक्टर पौडेलले पनि आफूले ती महिलामाथि लाठी प्रहार गरेको स्वीकारेका छन् ।

बच्चामाथि निर्घात रुपमा लाठी हानिएको भिडियो बाहिर आएपछि लिइएको प्रतिक्रियामा पौडेलले सामान्य रुपमा भने, ‘प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि ।’
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रान लगाउनु पर्ने स्पष्ट व्यवस्था छ ।

https://youtu.be/IcZbyl9Wpx0

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरीक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ । एसएसपी राईले भने महिलामाथि पौडेलले लाठी हानेको जानकारी आफूलाई नभएको तर, गल्ती भएको भए अवस्था बुझेर कारबाही गर्छु ।

प्रहरीले खत्रीको घरमा धर्ना दिनुपर्ने अवस्थामा रहेका महिलाको समस्या बुझेर न्याय दिलाउनका लागि आवश्यक पहल गर्नुपर्नेमा उल्टै कुटपिट गर्नु प्रहरीको गलत काम भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार  २ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]