भारतीय वामपन्थी विद्यार्थी नेता कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्दा
काठमाडौं– भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ ।

केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको हो । सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलालनेहरू विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो ।
यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत १० जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।
केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।
मुद्दा चलाउन स्वीकृति दिएलगत्तै कन्हैया कुमारले दिल्ली सरकारलाई धन्यवाद दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्,‘दिल्ली प्रहरी र सरकारी वकिलसँग यो मुद्दालाई गम्भीरतापूर्वक लिन मेरो आग्रह छ, फास्टट्रयाक कोर्टमा द्रूतगतिमा यसको परीक्षण गरियोस र टेलिभिजन अदालतभन्दा कानूनकै अदालतबाट न्याय सुनिश्चित गरियोस्, सत्यमेव जयते ।’