अर्जुनधारामा पर्यटकको चहलपहल बढयो
बिर्तामोड । नेपाल भम्रण वर्ष २०२० आरम्भसँगै झापाको अर्जुनधारा–१ मा पर्ने हलुवागढ सिमसार क्षेत्रमा चहलपहल हवातै बढेको पाइएको छ । त्यस क्षेत्रलाई पछिल्लो नयाँ पर्यटकीय गन्तव्यको रुपमा लिने गरिएको छ । जसले गर्दा आन्तरिक तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटनको हिसावले पहिचान बनाएको सो क्षेत्रमा दैनिक जसो सयौँ पर्यटकको चहलपहल बाक्लिदैँ गएको जनाइएको छ ।

स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको सिमसार क्षेत्रमा यतिबेला उल्लेख्य संख्यामा नेपाल र भारतका पर्यटक आउने गरेको समूहका अध्यक्ष चक्र तामाङले जानकारी दिए । यता अर्जुनधारा नगरपालिकाले पनि पर्यटन विकासका लागि स्थानीय ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा छनोट गरेको छ । नगरको गन्तव्य छनोटले सन् २०२० मा मनाउदैँ गरिएको नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्यलाई थप सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष तामाङले बताए ।
बृहत गुरुयोजना बनाएर अघि बढेको हलुवागढमा जंगली जीवजन्तुसँगै प्राकृतिकप्रेमीका लागि उपयुक्त गन्तव्य बन्नेमा दुईमत छैन् । बिर्तामोडबाट ५ किलोमिटरमा झापाको पुरानो बजार शनिश्चरे बजारदेखि उत्तरमा जान सकिन्छ । शनिश्चरे बजारबाट करिब ९ किमी उत्तरतर्फ सवारी यात्रामा हलुवागढ कालिखोला सिमसार पुग्न सकिन्छ । मदनपुरबाट उत्तरतर्फ ४ किमीमा हलुवागढ कालिखोला सिमसार रहेको छ ।
खासगरी पदयात्रा सो क्षेत्र उपयुक्त मानिन्छ । डाँडापाखाको प्राकृतिक दृश्यावलोकनको मज्जा सो क्षेत्रको विशेषताको रुपमा लिने गरिन्छ । नेपाल भम्रण वर्षलाई लक्षित गरी यहाँ परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ ।