बैशाख २७, २०८२ शनिबार

वामदेव प्रकरणपछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ  । आइतबार बिहान साढे एघार बजे बोलाइएको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने विषय नै मुख्य रूपमा छलफल हुने बताइएको छ

गत बुधबारको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरेको थियो । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपाभित्र किचलो उत्पन्न भएको छ ।

आज बस्ने बैठकले पछिल्लो विवाद निरुपण गर्ने प्रयास गर्ने बताइएको छ ।सचिवालयको निर्णयमा प्रधानमन्त्री बाधक बनेपछि नेताहरूको दौडधूप चलेको थियो । आज बिहान पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष गौतमबीच भेट भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सचिवालयको निर्णय कार्यान्वयन गर्ने विषयमा नै छलफल भएको बुझिएको छ ।

मिलाउँदै माधव नेपाल

पार्टीका चौथो वरीयताका नेता माधव नेपाल भने किचलो मिलाउने पक्षमा उभिएका छन् ।  बुधबारको निर्णयबाट पार्टीभित्र टकरावको स्थिति पैदा भएपछि उनी दरार बढ्न नदिने पक्षमा छन्  ।

“सकेसम्म उहाँ विवाद मिलाउने पक्षमा हुनुहुन्छ,” माधव नेपाल स्रोतले बाह्रखरीसँग भन्यो, “तर, ओली आफ्नो अडानमा टसको मस हुनुहुन्न ।”

माधव नेपाल अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने र मन्त्रिपरिषद्को सिफारिसमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्नुपर्ने पक्षमा छन् ।

यसले दुवै पक्षलाई विनविनको अवस्थामा लैजाने र पार्टीभित्रको विवाद मत्थर हुने उनको विश्वास छ ।

“पछिल्लो भेटमा नेता नेपालले महिनासम्म खतिवडालाई नै निरन्तरता दिने र वामदेव गौतमलाई तत्काल राष्ट्रियसभामा लैजाने मध्यमार्गी बाटो सुझाउनुभएको छ । तर, ओली आफ्नै अडानमा हुनुहुन्छ,” नेपालनिकट स्रोतले भन्यो ।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]