बैशाख २६, २०८२ शुक्रबार

नख्खु जेल ब्रेकर घिमिरेको भारतीय गाडीको ठक्करबाट मृत्यु

झापा । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजिकैको ‘चारआली बजार जान्छु’ भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए ।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।

नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गर्नुभएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।
उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक रहेका थिए ।

भारतीय प्रहरीले उनलाई एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  २ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]