फुलकोपीमा लुकाएर ब्राउनसुगर तस्करीको प्रयास
झापा । झापामा प्रहरीले लागूऔषध ओसारपासरविरुद्धको कारबाहीलाई व्यापक बनाएको छ । यद्यपि, कारोबारीले तस्करी गर्न छाडेका छैनन् ।

बरु नयाँ शैली अपनाएर तस्करी गर्ने कोशिश गरिरहेका छन् । बुधबार प्रहरीले यस्तै नयाँ शैली प्रयोग गरेर लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझी छन् ।
झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार फुलकोपीमा लुकाएर उनीहरुले ४.५ ग्राम ब्राउनसुगर तस्करी गर्न खोजेका थिए ।
तर, प्रहरीको सावधानीका कारण उनीहरुको योजना सफल हुन पाएन ।
उनीहरुमाथि लागूऔषध ऐन अन्तरगत जिल्ला अदालत, झापाबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।