हात नमिलाऊ, नमस्कार गरौं
सम्पादकीय
विश्वभर कोरोना भाइरसको संक्रमणले चर्चा पाएको छ । विश्वका सबै राष्ट्र यसको जोखिममा परेका छन् । नेपाल पनि उत्तिकै सतर्कता अपनाइरहेको छ । अहिले सरकारले यसको संक्रमण भित्रिन नदिन गरिरहेको प्रयासले आम नागरिक त्रसित छन् । सरकारले गरेको तयारी पूर्व सतर्कता हो । अहिले आत्तिनुपर्ने अवस्था छैन । तर, गाउँदेखि शहर सबै ठाउँमा सर्वसाधारण कोरोना नेपाल प्रवेश गरिसकेको भ्रममा छन् । भ्रम फैलाउनु हुदैन । यदि भ्रमलाई व्यापक बनाइयो भने त्यसले पनि मानसिक असर गर्न सक्छ ।

सरकारको सबै अंगहरु यतिबेला यसको संक्रमण भित्रिन नदिने र भित्रि हालेमा त्यसको तत्काल उपचार गर्ने परिबन्ध मिलाइरहेका छन् । यसैमा आत्तिनु र आत्तिन बाध्य बनाइनु गलत हो । विश्वको ६० राष्ट्रमा फैलिएको कोरोना नेपालमा प्रवेश नगर्ला भन्न सकिन्न । यसैले स्वयम् सतर्क हुन जरुरी छ । यसको भ्रममा परेर आत्तिनु भन्दा यसबाट सुरक्षित हुने उपाय खोजी गरेर अध्ययन गर्नु उपयुक्त हुनेछ । सचेतता नै कोरोना भित्रिन नदिने एकमात्र उपाय हो । त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ । मानसिक रुपमा पनि हामी बलियो बन्नुपर्छ ।
सरकारले ठुला कार्यक्रम , सभासम्मेलन नगर्न अपिल गरिसकेको छ । तर, झापामा अहिले पनि केहि ठुला कार्यक्रम चलिरहेका छन् । मानवीय भिडभाड हुने कार्यक्रमलाई स्थगित गरेर यसबाट सुरक्षित हुने सचेतना फैलाउन अपरिहार्य छ । विशेष गरी सरसफाईमा ध्यान दिने र भिडभाडमा उपस्थित नहुने हो भने पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । अब हरेक स्थानीय सरकारले यसबारे सचेतना फैलाउन जरुरी देखिएको छ । सर्जिकल मास्क अनिवार्य लगाउ, हात नमिलाई नमस्कार, अभिवादन मात्र गरौं । पानी पिउ, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहुँ ,समूहमा नबसौं । राम्ररी पाकेको खानेकुरा मात्र खाऔं । स्वास्थ्यमा कुनै समस्या देखिए स्वास्थ्य जाँच गरौं ।