सुखानी गोल्डकप : लेटाङ सेमिफाइनलमा
अर्जुनधारा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको २६औँ मिनेटमा लेटाङकी एमा राईले गोल गर्दै खाता खोलेकी थिइन् । त्यस्तै, टिमका लागि सपना मगरले खेलको ३५औँ मिनेटमा दोस्रो गोल गरेर तेह्रथुमविरुद्ध २–० गोलको अग्रता दिलाइन् ।
प्रतिस्पर्धात्मक खेलमा तेह्रथुमले दोस्रो हाफमा लय समाए पनि पनि जीत सम्भव भएन । तर, खेलको ४७औँ मिनेटमा कप्तान एनिन लिम्बूले गोल गरेर खेलमा फर्किने प्रयास गरिन् । उनले फ्रिकिकमार्फत सुन्दर गोल गरेकी थिइन् ।
यसैबीच, लेटाङकी आशा लिम्बूले हेडरमार्फत गोल गरेर फराकिलो गोलअन्तर निकालेर टिमलाई जिताइन् । खेलको वुमन अफ दी म्याच लेटाङकी कप्तान सावित्रा मगर घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।
सोमबार साविक विजेता कर्णसिं सोना फुटबल क्लब ताप्लेजुङले माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।