२० जना मन्त्रीद्धारा राजीनामा
काठमाण्डौ – भारतको मध्यप्रदेश राज्यमा चलिरहेको राजनीतिक सङ्कटका बीच मुख्यमन्त्री कमलनाथ बोलाएको मन्त्रिपरिषद्को आपत्कालिन बैठकमा २० जना मन्त्रीले राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाएका मन्त्रीहरुले मुख्यमन्त्री कमलनाथलाई नयाँ धारबाट मन्त्रिमण्डल गठन गर्न आग्रह गरेका छन् ।
त्यस्तै मङ्गलबार काङ्ग्रेस विधायक दलको बैठक बोलाएको छ । मुख्यमन्त्री निवासमा राति अबेरसम्म चलेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकपछि लोक निर्माण मन्त्री सज्जन सिंहले सञ्चारमाध्यमलाई यो जानकारी दिएका हुन् ।
उनीसँगै मन्त्री उमंग सिंघार, पीसी शर्मा, हुकुम सिंह, तरुण भनोतसहित अन्य धेरै मन्त्रीहरु उपस्थित थिए ।
लोक निर्माण मन्त्री वर्माले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टी (भाजपा) को षड्यन्त्रलाई सफल हुन नदिने बताए । वर्माले मङ्गलबार साँझ ५ बजे काङ्ग्रेस विधायक दलको बैठक बोलाइएको र बैठकमा काङ्ग्रेसले आफ्नो रणनीतिको बारेमा खुलासा गर्ने बताए ।
वरिष्ठ नेता ज्योतिरादित्य सिन्धिया रिसाएका छन् भन्ने प्रश्नमा मन्त्री वर्माले सिन्धिया जहाँ थिए त्यही अवस्थामा रहेको बताए । सबै मन्त्रीले मुख्यमन्त्रीलाई आफ्नो विवेक प्रयोग गरेर मन्त्रिमण्डल बनाउन सुझाव दिएको उनले बताए ।
कति जना मन्त्रीले राजीनामा बुझाए ? भन्ने प्रश्नमा वर्माले भने, ‘२० जना मन्त्रीले राजीनामा सुम्पिएका हुन् ।’