जेष्ठ ६, २०८२ सोमबार

हाइअलर्टमा सबै सुरक्षा निकाय

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण ९कोभिड–१९० को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् ।

नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए “आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण तयारी गरेको छ”, प्रवक्ता क्षेत्रीले भने । उनले जिल्ला र केन्द्रमा कोरोनासम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए । प्रहरीको २ नं गणमा ५० श्ययाको क्वारेन्टाइन भवन र नेपाल प्रहरी अस्पतालमा २० श्ययाको आइसोलेसन वार्ड तयार पारिएको जानकारी दिए ।

शुक्रबार भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको उनले जानकारी दिए । सीमाक्षेत्रमा समेत कतिपय ठाउँमा प्रहरीले आफ्नै तरिकाले हेल्थ डेस्क स्थापना गरेको र कतिपय स्थानमा सशस्त्र प्रहरीसँगको समन्वयमा डेस्क स्थापना गरेर निगरानी भइरहेको छ । कतिपय स्थानमा स्वास्थ्य संस्थासँग समन्वय गरेर डेस्क स्थापना गरिएको छ । दिपायल, नेपालगञ्ज र सप्तरीमा रहेको प्रहरी अस्पताल पनि आवश्यक तयारीका साथ बसेको उनले बताए ।

सशस्त्र प्रहरी बल नेपाल पनि आवश्यक तयारी जुटेको छ । नेपालमा कोरोनाको सङ्क्रमण नभए पनि सम्भावित जोखिम रोक्न र रोग भित्रिएमा तत्काल परिचालन हुने गरी सशस्त्र प्रहरीले तयारी गरेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिए । आवश्यक परेको खण्डमा एक हजार व्यक्तिलाई उपचार गर्न सक्ने गरी क्षेत्र छुट्याएर आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक तयारी थालिएको उनले जानकारी दिए ।

नेपाल प्रहरी तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा सीमाक्षेत्र र मानिसको आवतजावत गर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा आसपास १४२ स्थानमा हेल्थ डेस्कमार्फत सेवा दिइरहेको श्रेष्ठले जानकारी दिए ।

सेनाको यस्तो छ तयारी

नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही दिनअघि मात्रै सीमित स्रोत साधनका बीच कसरी काम गर्न सकिन्छ भनेर पूर्वाभ्यास नै गरिएको थियो । काठमाडौँमा ५४ टेन्ट बनाएर सफल अभ्यास गरिएको थियो । नेपालगञ्ज, इटहरी र पोखरामा रहेको क्षेत्रीय अस्पतालले समेत आफ्नो आवश्यक तयारी गरेर सेना बसेको छ ।

सातै प्रदेशका पृतनामा रहेका साना अस्पतालले प्रदेश सरकारसँग मिलेर आइसोलेसन र क्वारेन्टाइन बनाएको उनले बताए । पूर्वी पृतनाले प्रदेश सरकारसँग मिलेर मोरङ, झापा, उदयपुरमा झण्डै ४०० श्ययाको छुट्टै क्याम्प ९आइसोलेसन वार्र्ड० बनाइसकेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

अन्य पृतनाले पनि आवश्यक तयारी गरिरहेको छ । केन्द्रबाट पठाउने स्रोत सामग्रीहरु पठाउने क्रम जारी रहेको र भूकम्पका बेलाका सामग्री, टेन्ट सबै प्रयोग हुँदैछ । सेनाले सबै पृतनालाई आकस्मिक कोषका रुपमा रु २५ लाखका दरले दिइसकेको छ । त्यसबाट तयारी भइरहेको छ । सरकारले आइसियूसहितको २० श्यया बनाउन निर्देशन दिएअनुसार वीरेन्द्र सैनिक अस्पतालमा त्यसको तयारीको काम भइरहेको प्रवक्ता पाण्डेले बताए ।

उनले भने, “हाम्रा सबै ब्यारेक, गणहरु ‘लकडाउन’ जस्तै छ, बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा छ ।” उजले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ‘कोर’ समूह तयार पारिएको जानकारी दिए । कुन ब्यारेक र गणमा सिपाही र कमाण्डर को–को खटिने सबै तयारीमा छ, सेनाका चिकित्सक र स्वास्थ्यकर्मी कसरी परिचालन हुने आइसोलेसनमा कसरी काम गर्ने, क्वारेन्टाइनमा सेनाको भूमिका कस्तो रहन्छ सबै कुराको तयारीमा नेपाली सेना रहेको छ । केन्द्रमा १० श्ययासहित विभिन्न स्थानमा गरी ५२ श्ययाको आइसोलेसन वार्डसमेत सेनाले तयारी अवस्थामा राखेको जनाइएको छ ।

सरकारको उच्च सतर्कता

सरकारले कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । मुलुकमा भोलि आइतबारदेखि यही चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरिसकेको छ । यस्तै चैत १० गतेदेखि लागू हुनेगरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गरेको छ ।

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि सरकारले आह्वान गरिसकेको छ । यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाईमार्ग हुँदै नेपाल आगमनमा रोक लगाउन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् ।

सबै सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्ने उनले आह्वान गरेका छन् । चीनको वुहानमा गत डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा देखिएको थियो । यो कोरोनाको सातौँ प्रजातिमा पर्छ । जनावरबाट मानिसमा सरेको भनिएपछि कुन जनावरबाट सरेको भनेर पत्ता लागेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म १७७ मुलुकमा दुई लाख ३४ हनार ७३ जना सङ्क्रमित भइसकेका छन् । जसमा नौ हजार ८४० जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को नेपाल उच्च जोखिममा रहे पनि अहिलेसम्म सङ्क्रमण देखिएको छैन । भारतको सीमानाकाबाट बढी जोखिम रहेकाले अहिले सरकारले सीमामा उच्च निगरानी बढाउँदै आएको छ । रासस

प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]