जनता कर्फ्युले पूर्वी नाका सुनसान
काँकडभिट्टा – आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकडभिट्टा नाका सुनसान भएको छ ।

भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् । सर्वसाधारणको आवागमन ठप्प छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले बिहानैबाट पूर्वी नाका ठप्प भएको जनाए ।
नाका बन्द हुँदा कोरोनाको संक्रमण भित्र्न नसक्ने भन्दै झापाका विभिन्न संघ संस्था र नागरिक समाजले केही दिन नाकाबन्द गर्न आग्रह गरेका छन् । मेचीनगरका मेयर विमल आचार्यले नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको जनाएका छन् ।
भारतका विभिन्न सहरमा कार्यरत तथा बंगलादेशमा अध्ययनरत नेपाली जनता कर्फ्युका कारण देश फर्किन पाएका छैनन् । नाका ठप्प हुँदा उनीहरु भारतमै अलपत्र परेको बुझिएको छ ।