लकडाउनमा सयौं कुकुरको भोक मेटाउँदै तुम्रोक समूह
बिर्तामोड । लकडाउन शुरु भएपछि भोकाएका सामुदायिक (छाडा) कुकुरलाई बिर्तामोडका शुकराज तुम्रोकको समूहले खानाको व्यवस्था गर्दै आएको छ ।

विगत केहि वर्षदेखि सामुदायिक कुकुरको उपचारमा निशुल्क योगदान गर्दै आएको उनको समुहले लकडाउनको समयमा करिव ४ सय कुकुरलाई खानाको व्यवस्था गर्दै आएका हुन् । तुम्रोकका अनुसार बिर्तामोड नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई लकडाउन शुरु भएदेखि नै खानाको प्रबन्ध गरिदै आएको छ ।

व्यक्ति रुपमा समूहका सबै प्रतिनिधिले आर्थिक संकलन गरेर कुकुरका लागि विस्कुट सहित खाद्यान्न व्यवस्था गरेको जानकारी दिए । उनले सडकमा छाडा कुकुरको स्वास्थ्य अवस्थामा समस्या आएमा घरैमा लगेर उपचार समेत गर्दै आएका छन् ।

पृथ्वि मानव जातिको मात्र होइन, यहाँ सबै प्राणीको बाँच्न पाउने अधिकार भएकोले त्यसमा ख्याल गर्न जरुरी रहेको बताए । अहिले सबै नागरिकले मान्छेको मात्र चिन्ता गरिरहेको अवस्था छ, तुम्रोकले भने – हामी भोका जिवजन्तुको पनि ख्याल गरिरहेका छौं । उनको समूहको यतिवेलाको दैनिकी कुकुरलाई खानाको प्रबन्ध गर्नु बनेको छ ।
