जेष्ठ १२, २०८२ आईतबार

भारतमा कोरोनाको सुनामी, नेपालमा चिन्ता

अस्मिता क्षेत्री

काठमाडौं । नेपालमा कोरोना महामारी फैलिएको छैन । तर, नेपालसँग खुला सीमाले जोडिएको भारतमा भने कोरोना भाइरसको सुनामी सुरु भएको छ । 

भारतमा आज बिहान ११ बजेसम्ममा ६ हजार पाँच सय संक्रमित भेटिएका छन् । दैनिक पाँच सयको हाराहारीमा संक्रमित थपिँदैछन् । अब केही दिनभित्रै हरेक दिन दसौं हजार संक्रमित थपिने चिन्ताले भारत ग्रस्त छ ।

भारतमा केही दिन अघिसम्म संक्रमितको संख्या गणना गरिन्थ्यो । तर, अहिले त्यो अवस्था पार भएको छ । दैनिक रुपमा मृतकको गणना गर्न थालिएको छ । भारतमा दुई सय जनाको ज्यान कोरोनाका कारण गइसकेको छ । भारत सरकारको आधिकारिक तथ्यांक अनुसार बिहीबारको २४ घन्टामा त्यहाँ ३० जना भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा अहिले कोरोनाको दोस्रो चरण भनिँदैछ । अहिले त्यहाँ पूर्ण लकडाउन छ । आगामी दिनमा कोरोना संक्रमण झन् व्यापक बन्ने र कोरोनाको सुनामी नै आउने चेतावनी भारतीय अधिकारीहरुले दिएका छन् । 

नेपालको चिन्ता

भारतमा कोरोनाको सुनामी आउँदा नेपाल सुरक्षित रहन सक्छ त ? प्रश्न उठिरहेको छ । भारतमा अहिले जुन संक्रमण देखिएको छ, उनीहरुलाई केही दिन पहिले नै कोरोना भाइरसले छोइसकेको थियो । कोरोना भाइरसको सम्पर्कमा आएको व्यक्तिमा बढिमा १४ दिनमा संक्रमण देखिन सक्छ । 

यो १४ दिन बीचमा पनि हजारौं नेपाली भारतबाट विभिन्न बाटोबाट तथा चोरबाटोबाट समेत नेपाल पसिसकेका छन् । उनीहरुमध्ये कोही भाइरसको सम्पर्कमा आएका थिए कि थिएनन् भन्ने मुख्य प्रश्न हो । 

यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो दुई साता नेपालका लागि चुनौतीपूर्ण रहेको बताएका हुन् ।

भारतबाट अहिले पनि मानिसहरु लुकिछिपी नेपाल आइरहेका छन् । उनीहरुमध्ये कोही भाइरसको सम्पर्कमा आएका रहेछन् भने नेपालमा थप व्यक्तिमा संक्रमण देखिन सक्छ । 

कोरोना संक्रमित व्यक्ति देखिनु चिन्ताको विषय हो नै तर कसलाई कहाँबाट भाइरस सर्‍यो भन्ने थाहा नपाइने अवस्था आयो भने त्यो झन् चिन्ताको विषय हुनेछ । 

भारतमा अहिले त्यही भइरहेछ । कसलाई कहाँ र कसरी भाइरस सर्‍यो भन्ने पत्तो नपाइने अवस्था त्यहाँ आएको छ ।

भारतमा कोरोनाको सुनामी आउने चिन्ताजनक अवस्थालाई ध्यानमा राखेर नेपालले आफ्नो तयारी व्यापक बनाउनुको विकल्प छैन ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  १२ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]