विराटनगरमा पनि कोरोना संक्रमणको परीक्षण हुने
विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ । कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् ।

त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए । कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संभवत शुक्रबार साँझदेखि परीक्षण शुरु गर्ने तयारी भएको बताइन् । ‘हामीले लगभग तयारी पूरा गरेका छौं’ उनले भनिन् ‘स्याम्पल आयो भने सम्भवतः आज साँझ परीक्षण गर्न सक्छौं ।’
प्रदेश सरकारले कोशी अस्पताल अन्तर्गत नै कोराना विशेष अस्पताल पनि सञ्चालन गरेको छ ।
र्यापिड टेष्ट टोली परिचालन
कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण परीक्षणका लागि घाँटीका नमुना (स्वाब) संकलनका लागि प्रदेश १ मा स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी०का लागि शुक्रबारबाट स्वास्थ्यकर्मीको टोली परिचालन भएको हो ।
स्वास्थ्यकर्मीको टोली मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाइनमा बसेकाको आरडीटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।