मुम्बइमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित
काठमाडौं । भारतको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।
परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका एक सदस्यले बताएका छन् ।
उनका अनुसार शुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो ।
४३ वर्षीय ती व्यक्तिले परिवारका अधिकतर सदस्यमा संक्रमण देखिँदा शुरुमा त सबै जना निरास भएको बताए । संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ । केही आइसोलेसनमा छन् । तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिलेसम्म विश्वभर करिब दुई हजार नेपाली कारोना संक्रमित भइसकेका अनुमान गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले गरेको छ । अमेरिका, स्पेन लगायतका देशमा धेरै नेपाली संक्रमित छन् । अमेरिकामा मात्रै झण्डै आठ सय नेपालीमा कोरोना संक्रमण भएको अनुमान गरिएको संघका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् ।