प्राणघातक कोरोनाले लियो १ लाख बढिको ज्यान
झापा । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोनाका कारण एक लाख दुई हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । कोरोनाबाट संक्रमितको संख्या पनि १७ लाख नजिक पुगेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँ १८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
१७ लाख कोरोनाबाट संक्रमित भएकामा तीन लाख ७६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार ८ सयभन्दा धेरै छन् भने स्पेनमा १६ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५८ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १३ हजार एक सय नाघेको छ । बेलायतमा करिब ९ हजारको कोरोनाबाट ज्यान गएको छ । इरानमा मृतकको संख्या चार हजार दुई सय नाघ्दा चीनमा यो संख्या तीन ३३६ मा रोकिएको छ ।
जर्मनीमा मृत्यु हुनेको संख्या दुई हजार सात सय नाघ्दा बेल्जियममा तीन हजार नाघेको छ भने नेदरल्याण्डमा दुई हजार पाँच सय नाघेको छ । भारतमा कोरोनाबाट २४९ जनाको मृत्यु हुँदा ७ हजार ६ सया बढी संक्रमित भएका छन् ।
मानव संक्रकट झेलिरहेको यमनमा पहिलो संक्रमित भेटिए, २१० देशमा पुग्यो कोरोना
हालसम्म कोरोनाको भाइरसको सङ्क्रमण फैलिएको देशको संख्या २१० पुगेको छ । द्वन्द्वग्रस्त देश यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २१० पुगेको हो ।
यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औंलोसहित केही रोगका बिरामी यमनमा पहिलेदेखि नै छन् ।
वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको भन्दै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् । गैरसरकारी संस्था अक्सफामले यमनमा कोरोना सङ्क्रमित भेटिनु निकै ठूलो झट्का भनेको छ भने अन्तर्राष्ट्रिय उद्धार समितिले यसलाई नराम्रो सपना भनेको छ ।