जिसस प्रमुखलाई झापाका मेयरको आग्रह ‘अब किसानलाई मल पनि व्यवस्था गर्नुपर्यो ’
बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जिल्लाका पाँच वटा नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गरेका छन् ।
भिडियो कन्फ्रेन्समा सबै नगर प्रमुखहरुले अहिलेसम्म भएका काम र केहि समस्याबारे प्रमुख पोर्तेललाई रिर्पोटिङ गरेका थिए ।

बिर्तामोड, अर्जुनधारा र शिवसताक्षीका प्रमुखहरुको व्यवस्तताका कारण अन्य पाँच नगर प्रमुखसँग कन्फ्रेन्समा कुरा भएको छ । भिडियो कन्फ्रेन्समा भद्रपुरका प्रमुख जीवन श्रेष्ठ र मेचीनगरका प्रमुख विमल आचार्यले सीमा क्षेत्रको समस्या बारे जानकारी गराएका छन् । उनीहरुले आवातजात रोक्न निकै मुस्किल भइरहेको बारे जानकारी गराउँदै थप कडाई गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
अधिकांश नगर प्रमुखहरुले अहिलेसम्म स्थानीय तहबाट वितरण भएको राहतबारे जानकारी गराएका छन् । यस्तै, किसानलाई मलखाद्यको समस्या भइरहेको जानकारी गराए । यसबारे जिसस प्रमुख पोर्तेलले मल व्यवस्थापनका लागि जिल्ला प्रशासनसँग छलफल भइरहेको र अब तत्काल त्यसको व्यवस्थापन गर्ने जानकारी गराएका छन् ।
प्रमुख पोर्तेलले सबै स्थानीय तहलाई आफ्नो पालिकाका नागरिक बाहेकका नागरिकलाई पनि राहतको व्यवस्था गर्न सूझाव दिएका छन् । त्यस्तै भिडियो कन्फ्रेन्समा र्यापिड परीक्षणका लागि सबै पालिकाभित्र व्यवस्था गर्नेबारे पनि छलफल भएको पोर्तेलले जानकारी दिएका छन् । नगर प्रमुखहरुले बजारको अनुगमन गरिदिन समेत आग्रह गरेका छन् ।