प्रतिकुलतामा पनि कनकाईले किसानलाई उपलब्ध गरायो १८ सय बोरा मल
बिर्तामोड । कनकाई नगरपालिकाले कृषि सहकारीहरुसँगको समन्वयमा किसानलाई १८ सय बोरा मल उपलब्ध गराउको छ । कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले लकडाउनको प्रतिकुलता बिच मल वितरण गरिएको जानकारी दिए ।

किसानहरुलाई मकैबालीमा आवश्यक मलको अभाव हुन नदिन कनकाई नगरपालिकाले नगरभित्र र बाहिरका कृषि सहकारीहरुसँग समन्वय गरी हालसम्म १८ सय बोरा मल उपलब्ध गराएको पोखरेलको भनाई छ । त्यसमध्ये वडा नं. १, २, ३, ६ र ९ मा ७ सय ५० बोरा, वडा नं. ४ मा ५ सय बोरा र वडा नं. ५ मा ४ सय बोरा मल जनप्रतिनिधि र टोल विकास संस्थाको रोहवरमा किसानहरुलाई उपलब्ध गराइएको पोखरेलले बताए । वडा नं. ७ मा स्थानीय सहकारीमार्फत् १ सय ५० बोरा बिक्री वितरण गरियो भने वडा नं. ८ का सहकारीले मलको व्यवस्थापन आफैँ गरेका छन् । मल खरिदका लागि आवश्यक रकम जनप्रतिनिधि, केही कृषक र सहकारीहरुमार्फत् व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
आगामी दिनमा पनि किसानलाई मलको अभाव हुन नदिन नगरपालिका प्रयत्नशील रहने मेयर पोखरेलले प्रतिबद्धता जनाएका छन् । उनले मल व्यवस्थापनमा सहयोग गर्ने प्रदेश कृषि मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय, विर्तामोड र विराटनगर, ढुवानीकर्ताहरु लगायत सम्पूर्णलाई धन्यवाद समेत दिएका छन् ।