झापामा छुट्टै कोभिड अस्पताल बनाइँदै
अर्जुन राजवंशी
बिर्तामोड – कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ ।
प्रदेश सरकारअन्तर्गत बन्ने उक्त अस्पताल भद्रपुरस्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवनमा वा धुलाबारीस्थित आम्दा अस्पताल भवनमा राख्नेबारे अध्ययन भइरहेको प्रदेश सरकारको क्राइसेस मेनेजमेन्ट टिमका महामारी विशेषज्ञ डा। सूर्य पराजुलीले जानकारी दिए ।

प्रदेश १ मा विराटनगरको कोसी अस्पतालमा कोभिड उपचारका लागि ५० शय्या तयार पारिसकिएको छ । उक्त अस्पतालमा शय्या ७५ वटा पुर्याउने तयारी भइरहेको डा। पराजुलीले बताए । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय बेडको छुट्टै कोभिड अस्पताल निर्माण भइरहेको छ ।
‘धरान र विराटनगरमा गरी १ सय ७५ बेडको अस्पताल तयार भइरहेको छ । झापामा पनि ५० बेडको छुट्टै अस्पताल बनाउन सकिए सम्भावित महामारीमा प्रदेशवासीलाई स्वास्थ्य सेवा दिन सजिलो हुनेछ,’ पराजुलीले भने ।