जेष्ठ १८, २०८२ शनिबार

देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन

काठमाडौं । उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ । मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो ।

मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो ।

मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए ।
उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताएका छन् ।

दुवै ठाउँमा चार÷चार जना धर्मगुरु, तीनका सहयोगी दुई-दुई जना र दुई-दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए । कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए । मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरेका छन् ।

अनुगमन पछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटना पछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए । हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताए ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ४ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]