सडेको दाल बेच्ने मेयर धरौटीमा रिहा
बारा। राहतमा बाँड्न सडेको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।
मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् ।
मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बताए ।
थापाका अनुसार वडा नम्बर १– वडाध्यक्ष हरिओम सोनार, ७–का सर्फुल्लाह अन्सारी, ११– का सर्वनारायण चौधरी, १३–का राजनप्रसाद कुर्मी, २६–का महेश साह, २७–का हक, २०–वडाका वडासचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेका हुन् ।
बुधबार प्रहरीले मेयर यादवले कालोबजारी गरेको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । जिल्ला न्यायाधीवक्ता थापाले प्रहरी कार्यालयमै अभियुक्तहरूसित बयान लिई अभियोगपत्र दर्ता गराएका थिए ।
मेयर यादव मंगलबार, उनका भाइ रवीन्द्र यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव, २७ नम्बर वडाध्यक्ष रेयाजुल हक बुधबार र अन्य अभियुक्त केही दिनअघि पक्राउ परेका थिए ।