लकडाउनमा प्रविधि सिक्दै झापाली शिक्षक
धर्मेन्द्र मामा
झापा । विद्यालय बन्द भएको पनि एक महिनाभन्दा बढी भइसक्यो । विद्यालयहरुले वार्षिक परीक्षाको मूल्यांकन गरिसक्न पाएका छैनन् । सबै विद्यालय बन्द छन् । यस अवस्थामा शिक्षकहरु चाहिँ के गरिरहेका छन् होला ? कतिलाई लाग्न सक्छ , शिक्षकहरु घरमा मस्त बसिरहेका छन् ।

कामै नगरि तलव पकाएका छन् भन्ने पनि भ्रम परिरहेको हुन सक्छ । तर, शिक्षकहरु त्यसै बसिरहेका छैन । यो बन्दको अवधिलाई भरपुर रुपमा अवसरको रुपमा प्रयोग गरिरहेका छन् । झापाली शिक्षकहरु । गरम कालीआधारभूत विद्यालयका शिक्षक राम प्रसाद पराजुलीले यही अवधिमा कम्प्युटर चलाउन सिके । उनी भन्छन्, मैले वर्ड, पावर पोइन्ट र एकसेल चलाउन भरपुर रुपमा सिक्ने अवसर पाए । त्यतिमात्र होइन कक्षाकोठामा प्रयोग गर्न सकिने शैक्षिक सामग्रीहरु पनि प्रविधिको प्रयोग गरी कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि सिके ।
दुर्गा मावि गरामनीका शिक्षक निकुञ्ज शर्मा अहिले प्रदेश सरकारद्वारा सञ्चालित आइसिटी तालिममा व्यस्त छन् । अब उनी चाँडै प्रदेशस्तरीय शिक्षकको तालिममा सहभागी हुँदैछन् । भृकुटी मावि दुर्गापुरका शिक्षक चंडीका आचार्यका लागि पनि यो बन्द उपयोगी बन्यो । उनी निरन्तर आइसिटी सम्बन्धी अनलाइन तालिममा सहभागी भइरहेका छन् । केही महिनाअघि मात्र शिक्षक सेवा आयोग उत्तीर्ण गरी ताप्लेजुङमा नियुक्ति भएका शिक्षक केशव उप्रेती अहिले आइसिटी सम्बन्धि तालिमहरुमां व्यस्त छन् । आफूले केही कुरा जानेको भए पनि यस्ता कोर्षहरुबाट धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछन् ।
ढुकुरपानी माविका पूर्व प्रधानाध्यापक समेत रहेका शिक्षक रघुनाथ भट्टराईको लागि यो अपिस्मरणीय अवसर बन्यो । कम्प्युटर सम्बन्धी त्यति धेरै ज्ञान नभएको हुनाले धेरै कुरा सिक्ने मौका पाए । झापाली शिक्षकहरु शैक्षिक सत्रको सुरु हुनु अगावै प्रविधि तर्फ बढि उन्मुख भएको पाइन्छ । सरकारी विद्यालयका साथसाथै निजी विद्यालयका शिक्षकहरु पनि अहिले सिक्ने र सिकाउने कार्यमा तल्लिन छन् । बिर्तामोड स्थित न्यूटन एजुकेशन अकाडेमीका शिक्षक जेनी राई र संगीता बस्नेत बन्दको समयलाई भरपुर उपयोग गरिरहेका छन् । उनीहरु देशका विभिन्न भागबाट सञ्चालन गरिएका अनलाइन तालिममा सहभागी भएका छन् ।
शिक्षकहरुको सिकिरहेका मात्र छैन कतिपय सिकाउने कार्यमा पनि उत्तिकै सक्रिय भएको पाइन्छ । जनजागृति मावि गोलधापका शिक्षक टीका प्रसाद सुवेदी झापाकै एक नाम चलेका आइसिटी प्रशिक्षक हुन् । उनी दैनिकजसो आइसिटी सम्बन्धी अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् । सुवेदीसंगै शनिश्चरे माविका प्रधानाध्यापक चेतामणी खनाल , हिमालय मावि दमकका शिक्षक बाल कुमार रेग्मी, सिंहदेवी मावि दमकका शिक्षक घनश्याम अधिकारी, रारा मावि दुधेका नारायण भट्टराई लगायत प्रशिक्षकहरुको दिनचर्या अहिले अनलाइन तालिम संचालनमा ब्यस्त छ ।
विशेषगरी प्रविधिमैत्री शिक्षक समाज र अंग्रेजी शिक्षकहरूको संस्था नेल्टा जस्ता संस्थामा आबद्ध शिक्षकहरु सिक्ने र सिकाउने क्रममा जागरूक देखिन्छन् । कतिपय शिक्षकहरु उही परीक्षा दिन बसेका विद्यार्थीहरुका लागि कक्षा अनलाइनमार्फत सञ्चालन गरिरहेका छन् भने फेसबुक र ह्वाट्सएप जस्ता मिडियाको प्रयोग गरी पाठ्य सामग्रीहरु विद्यार्थी सम्म पुर्याउन लागिपरेका छन् ।
कोरोनाभाइरसको कारण देश लामो समयसम्म लकडाउनमा रहने देखिन्छ । त्यसमा पनि शैक्षिक संस्थाहरुको अन्योल अझ बढेर गएको छ । यस अवस्थामा शिक्षकहरुले वर्तमान प्रविधिको प्रयोग गरी विद्यार्थीसम्म पुग्न प्रविधिमैत्री हुनैपर्ने बाध्यता सृजना भएको छ । यसैलाई मध्यनजर गरी झापाली शिक्षकहरु प्रविधिसँग मितेरी गाँस्न थालेका हुन् ।