झापामा कोरोना विशेष अस्पताल बनाइने
बिर्तामोड । झापामा कोरोना विशेष अस्पताल, पिसिआर परीक्षण केन्द्र र कोरोनाबाट मृत्यु भएकाहरुको लागि दाहसंस्कार स्थल बनाइने भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको आतिथ्यतामा आज भएको झापा जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको झापा संघीय निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सांसद बसन्त बानियाँले जानकारी दिए । ‘कोभिड विषेश अस्पताल, पिसिआर परीक्षण केन्द्र र दाहसंस्कारका लागि उचित स्थान तयारीको निर्णय गरिएको छ’, प्रदेश सांसद बानियाँले भने, ‘आवश्यक साधन स्रोतको व्यवस्था तीनै तहका सरकार मिलेर गर्ने सहमति भएको छ ।’
अगुवाहरुको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष देबराज घिमिरे, झापाका प्रदेश सभाका माननीयहरु, राजनीतिक पार्टीका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, भद्रपुर नगरपालिका प्रमुख र उपप्रमुख, डाक्टरहरु लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न बैठकले टेक्निकल टीमले तत्काल स्थानको खोजी गर्ने निर्णय गरेको बताइएको छ ।