भारतबाटै आएका थिए कचनकवलका १५ संक्रमित
झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएका थिए । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।
‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनु भएको थियो,’ चौलागाईंले भने, ‘एक सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५० जनाको रिपोर्ट आइसकेको छ ।’ हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एकरएक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।