नेकपाका लोकप्रिय नेता राजवंशीको निधन
बिर्तामोड – नेकपाका प्रदेश कमिटी सदस्य झापा मेचीनगरका स्थानीयबासी हंसलाल राजवंशीको उपचारका क्रममा आज साँझ निधन भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

न्यूरो हस्पिटलको भेन्टिलेटरमा ५५ घन्टादेखि बेहोस अवस्थामा उनको उपचार भइरहेको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष समेत रहेका ६३ वर्षीय नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय थिए । झापाको कम्युनिष्ट आन्दोलनको अगुवा आदिवासी नेता, सरल र मिलनसार व्यक्तित्वका धनी राजवंशीको निधनप्रति नेकपाका विभिन्न कमिटीले दुख व्यक्त गरेका छन् ।
प्रदेश सभा सदस्य झापा मेचीनगरका स्थायी बासिन्दा गोपाल बुढाथोकीले नेता राजवंशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्, ‘विद्यार्थी आन्दोलन देखिको मेरो नेता, श्रमजीवी जनताका प्रिय नेता कमरेड हशंलालप्रति भावपूर्ण श्रद्धाञ्जलि । शोकाकुल सबैमा गहिरो समवेदना ।’
प्रदेश कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख सोमनाथ पोर्तेलले प्रदेशले एक जना इमान्दार कम्युनिष्ट सिपाही गुमाएको बताए । विराटनगरबाट शव ल्याएर आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।