बिर्तामोडका २० घरमा खतराको संकेत
बिर्तामोड । कोरोनासँग सम्बन्धित रहेर विर्तामोड नगरपालिका वडा नं. –५ ले आज वडा भित्रको एउटा घरमा रातो झण्डा राखेको छ ।
विर्तामोड नगरपालिका वडा नंं–५ ले खतराको संकेतका रुपमा बुझिने रातो रंगको झण्डा आज एउटा घरमा राखेसंगै वडाभित्र दुई वटा घरमा रातो झण्डा राखिएको वडा सदस्य डिआर कडरियाले जानकारी दिनुभयो । ‘भारत लगायतका देशबाट आएर होम क्वारेन्टाइनमा बसेको संकेतका रुपमा झण्डा राखेका छौं’, सदस्य कडरियाले भन्नुभयो, ‘२१ दिन पुगेपछि कोरोना संक्रमणको परिक्षण हुन्छ, र रिपोर्ट नेगेटिभ आए झण्डा निकालिन्छ । पोजेटिभ आए राज्यको नीति अनुसारको प्रक्रिया सुरु हुन्छ ।’
नगरपालिकाको वडा नं.–४ का ३ वटा घरमा रातो झण्डा राखिएको बताइएको छ भने नगरपालिका क्षेत्रभित्र जम्मा २० वटा घरमा सोही प्रकृतिका झण्डा राखिएको सदस्य कडरियाले बताउनुभयो ।
खास गरी होम क्वारेन्टाइन अर्थात् विदेशबाट आएकाहरु सार्वजनिक क्वारेन्टाइनमा नगई घरमै बसेको अवस्थामा होम क्वारेन्टाइनको संकेतका रुपमा रातो रंगको झण्डा राखिएको हो । आज झण्डा राखिएको घरमा भारतबाट आएका परिवारका एक सदस्य क्वारेन्टाइनमा नबसी घरमा आएपछि वडा कार्यालयले संकेतका रुपमा झण्डा राखेको हो ।