बैशाख २३, २०८२ मंगलबार

हावाको प्रदूषण : नेपालभर ‘ग्रीन सिग्नल’

झापा – नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका लागि योग्य देखाएकाे वातवारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।

नेपालमा सन् २०१६ पछि हावाको प्रदूषण नाप्न थालिएको र त्यसयता पहिलो पटक नेपालभर नै ग्रीन सिग्नल देखिएको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो । ‘हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ, त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ  । अहिले यी सबै कम चलेका कारण प्रदूषण कम भएको हो’, प्रवक्ता जोशीले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो अर्थात् बसोबासका लागि योग्य, अक्वा एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्यको सङ्केत देखाउने गरेको पनि प्रवक्ता जोशीले बताउनुभयो ।

नेपालमा काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा केही दिनदेखि नेपालभर हरियो सङ्केत देखिएको छ । अत्यन्तै प्रदूषण हुने सिमरा र नेपालगञ्जमा अक्वा १५ भन्दा तल झरेको छ भने सौरहा, दाङलगायतमा ४० भन्दा कम छ ।

नियमित पानी पर्नुले पनि हावाको प्रदूषण घटेको र सबैभन्दा बढी प्रभाव पार्ने उद्याेग र गाडी कम चलेकोले पनि प्रदूषण कम भएकाे हाे । सीमावर्ती क्षेत्रहरुमा भारतीय वायुको कारण पनि प्रदूषण धेरै हुने गरेकोमा अहिले भारतमा समेत लकडाउन रहेकोले वायु प्रदूषण निकै कम भएको प्रवक्ता जोशीले बताउनुभयो । 

प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]