राजगढका व्यापारीलाई जरिवाना
बिर्तामोड । झापाको राजगढमा बिना दर्ता र बढि मुल्य लिएर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जरिवाना गरिएको छ । आज विहान गरिएको अनुगमनका क्रममा त्यस्ता व्यवसायीलाई ५ देखि १० हजारसम्म जरिवाना गरिएको छ ।

अनुगमन गरिएका अधिकांश किरानामा मिति सकिएका पेय पदार्थ सहित खाद्य सामग्री भेटिएपछि उनीहरुलाई पहिलो पटक सचेत गराउदै सामान्य जरिवाना गरिएको छ । वडा नं. ३ का अध्यक्ष विरेन राजवंशीका अनुसार उमेश शाह, गोपी बाँस्तोला, धर्म उप्रेती, दुर्गा निरौला र छत्र बहादुर राजवंशीले सञ्चालन गर्दे आएको किरानामा मिति नाघेको सामग्री भेटिएपछि उनीहरुलाई बढिमा १० हजारसम्म जरिवाना गरिएको छ ।
त्यस्तै, राजगढ बजारमा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका धनविर गणेशलाई १० हजार जरिवाना गरिएको छ । उनले सञ्चालन गर्दै आएको धनविर फार्मेसीमा इजाजत विना आयुर्वेदिक औषधि भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यलय झापामा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, बाह्रदशी गाउँपालिकाको उपाध्यक्ष रत्न राजवंशी, स्थानीय व्यवसायीका अगुवा, इप्रका राजगढका प्रतिनिधि र वडाध्यक्ष सहितको सहभागितामा अनुगमन गरिएको थियो । कोरोना महामारीमा व्यवसायीले ठगि गर्न सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्लास्थित अनुगमन समितिले अनुगमन गर्दै आएको छ । अधिकांश व्यवसायीलाई पहिलो पटकको लागि सचेत समेत गराइएको छ ।