जेष्ठ २६, २०८२ आईतबार

लिपुलेकमा सडक बनाएको नेपाल सरकारको आपत्ति

काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो । लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक-पटक दोहोर्‍याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्‍याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

हामीलाई दुःखित तुल्यायो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘अहिले जुन कदम चालियो, त्यसले हामीलाई दुःखी तुल्याएको छ । यससम्बन्धी सरकारको आधिकारिक धारणा भर्खरै सार्वजनिक गरेका छौं ।’

महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्शामा पारेलगत्तै नेपाललाई आपत्ति जनाएर कूटनीतिक माध्यमबाट समस्याको समाधानको पहल गरिरहेको मन्त्री ज्ञवालीले स्मरण गरे । नेपालकोे भूभागलाई भारतीय नक्शामा पारिएकोमा नेपालले आपत्ति जनाइरहेकै बेला लिपुलेकमा यसरी सडक उदघाटन हुँदा यसले दुःखित तुल्याएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

‘पहिलेदेखि नै नेपालले भन्दै आएका र नेपालको भूमि भनेर प्रमाणित हुने महाकाली पूर्वका भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्शा प्रकाशित गरिसकेपछि हामीले त्यति नै बेला गम्भीर आपत्ति जनाएका हौं’ मन्त्री ज्ञवालीले भने, ‘कूटनीतिक माध्यमबाट समाधान खोज्नका लागि हामीले पटक-पटक पहल गर्दै आएका हौं ।’

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  २ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]