कृषिथोक खुलेपछि बिर्तामोडबासी आतंकित, ५ गतेसम्म नखोल्न आग्रह
बिर्तामोड । व्यापारीको जवरजस्तीले बिर्तामोडस्थित कृषिथोक बजार खुला गर्न थालिएको छ । आजबाट सबै व्यापारीले व्यवसाय शुरु गरेका छन् । तर, कृषिथोक खुला भएकोमा बिर्तामोडवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिर्तामोड –५ मा रहेको कृषिथोक बजार खुल्ला गर्न अहिले आवश्यक थिएन । सर्वसाधरणले सागसब्जी किनेर खान पनि अभाव भएको थिएन, बजार नजिकैका नागरिक भन्छन्, अब हाम्रो स्वास्थ्यमाथि खेडवाड शुरु भयो ।
कृषिथोक बजार खुलाउन व्यापारले तिब्र दवाव दिएपछि बिहान ८ बजेदेखि १२ बजेसम्मका लागि खुला गरिएको छ । कृषिथोक खुलाउन नहुने भन्दै तिब्र विरोध भएपनि कसैले ख्याल गरेको छैन । वडाका जनप्रतिनिधि र बिर्तामोड इलाका प्रहरी कार्यालय कृषिथोक बजार खुलाउने पक्षमा थिएनन् । स्थानीय नागरिक बजार खुलेपछि आतंकित बनेका छन् । उनीहरुले सरकारले घोषणा गरेको लकडाउन पालना गर्न आग्रह गरेका छन् । बजार खुलेपछि असुरक्षा बढ्छ, स्थानीय भन्छन्– तत्कालका लागि बजार बन्द गरियोस् ।
बिर्तामोड –५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बजार नखोल्न भनेपछि व्यापारीको तिब्र दवाव आएको बताएका छन् । उनले बजार खुल्न नदिए वडा कार्यालय नै बन्द गर्ने धम्कीसम्म आएको जानकारी दिए । व्यापारीले बजारभित्र सुरक्षाको जिम्मा लिएका छन्, वडाध्यक्षले भने – उहाँहरुकै जिम्मामा बजार खोलिएको हो ।