बैशाख २६, २०८२ शुक्रबार

गलैंचा २७ लाखमा फेरिंदै, करोडको अफवाह

काठमाडौ । राष्ट्रपति कार्यालयको बैठक कक्षमा गलैंचा फेर्ने कम्पनीका सञ्चालकले लागत भन्दा तेब्बर रकम बढाई गलैंचा फेर्न लागियो भनी अफवाह फैलाइएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

सोमबार केही सञ्चारमाध्यमबाट शितल निवासमा एक करोडको गलैंचा फेर्न लागिएको समाचार बाहिर आएको थियो । तर, गलैंचा फेर्न टेण्डर पारेका हिमालयन डेकोरका प्रवन्ध निर्देशक शोभा गुरुङले जम्मा काम नै २७ लाख ५४ हजारको टेण्डर खुलेको जानकारी दिनुभयो ।

‘त्यहाँका बैठक कोठामा गलैंचा फेर्ने जिम्मेवारी हामीले नै पाएका हौं । सरकारी कार्यालयबाट प्रतिष्पर्धा गरेर तोकिएको रकम अनुसार काम हुन लागेको हो । तर कहाँबाट करोडको कुरा आयो आश्चर्य लागेको छ, गुरुङले भन्नुभयो ।

भइरहेका पुराना र विदेशी मेसिनबाट बनेका गलैंचाको साटो हातले बनेका नेपाली गलैंचा फेर्न शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वैशाख १२ गते पहिलोपल्ट टेण्डर निकालेको थियो ।

उक्त सूचनामा नेपाली उनी गलैंचा सप्लाई गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजारको अनुमानित लागत समेत तोकी प्रतिष्पर्धा गराइएको थियो ।

‘विदेशी भन्दा स्तरीय र केही महंगो हुने नेपाली गलैंचा सस्तोमा फेरिन लागेको हो । तर करोड खर्च भनेर सार्वजनिक गर्नु दुखद कुरा हो, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष समेत रहनुभएका गुरुङले खुलानेपालसँग भन्नुभयो ।

करिब ३ वर्ष अघि शितल निवास र कार्यालय नयाँ भवनमा छ । पुरानो भवन महाभूकम्पपछि चर्किएको थियो । नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी पाहुनलाई स्वागत लगायत कक्ष छन् । नयाँ भवनमा विभिन्न बैठक कक्ष, विदेशी अति विशिष्ट पाहुनासँग स्वागत र छलफललगायत कक्ष छन् ।

बोलपत्रको सूचना

त्यस्तो महत्वपूर्ण ठाउँमा नेपाली मौलिक उत्पादन राख्न, नेपालीपनको झल्को दिन उपर्युक्त हुने ठानी नेपाली गलैंचा राखिएको हो । स्वदेशी उत्पादनलाई नेपालमै प्रयोग गर्दा प्रोत्साहन पनि हुने भन्दै घरेलु महासंघले पहिलेदेखि नै स्वदेशी गलैंचा प्रयोग गर्न माग राख्दै आएको थियो ।

सोही क्रममा थोरै खर्च गरी राष्ट्रपति कार्यालयजस्त विशिष्ट ठाउँमा उपयोग गर्दा बढाईचढाई गरी कोकोहोलो गर्नु अशोभनीय हुने उपाध्यक्ष गुरुङको तर्क छ । ‘मिडियाले भएका कुरा बाहिर ल्याउँदा राम्रो हुन्छ । हामी स्वागत पनि गर्छौं । तर, तथ्यभन्दा बाहिर गएर सम्मानित संस्थालाई बेकारको विवादमा तान्नु कसैको हितमा छैन, उहाँले भन्नुभयो । शितल निवासका जनसम्पर्क उपसचिव हिरामणी आचार्यले पनि गलैंचा फेरिएको रकमबारे बाहिर बढाइचढाई गरेर आएको प्रतिक्रिया दिनुभयो ।

सबै रकम पारदर्शी भएको, नियमानुसार कम भन्दा कम मूल्यमा नेपाली गलैंचा खर्च भएको उल्लेख गर्दै आचार्यले भन्नुभयो, ‘तथ्य एकातिर, समाचार अर्कैतिर आइदियो । हामी दुखी छौं ।’

खुला नेपालबाट

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]