बैशाख २८, २०८२ आईतबार

प्रदेश सांसद केदार कार्कीलाई संसदकोषको खर्च विवरण सार्वजनिक गर्न माग

‘कोरोना सचेतना सन्देशबारे गलत प्रचार भयो’

विराटनगर । कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकारका संगठनहरुले आपत्ती जनाएका छन् ।

स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर भ्रम छरिएको भन्दै विज्ञप्तिमा आपत्ती जनाइएको छ ।

मंगलबार नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको जनाएको छ । महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म ११६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा उक्त सन्देशवापतको रकम वितरण गरेको जनाइएको छ ।

सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले आपत्ती जनाएको छ । कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं. प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ ।

जोखिमको अवस्थामा सरकारले उद्योगी व्यापारीदेखि नागरिकसम्मलाई सरकारले राहतको प्याकेज दिएको बेला प्रदेशका पत्रकार आफैंले दुःखकष्ट गरी सञ्चालन गरेका सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजी नगर्न महासंघले आग्रहसमेत गरेको छ ।
महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न सरकारलाई आग्रह गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई समेट्न माग गरेको छ ।

यसैबीच प्रेस संगठन नेपाल १ नं. प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति गलत आरोप लगाउने नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ । विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप राहतको व्यवस्था गर्न माग गरिएको छ । नेपाली काँग्रेसका सचेतक केदार कार्कीले अनावश्यक रुपमा यो विषयलाई अतिरञ्जित बनाएको संगठनका प्रदेश संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता, अनलाई मिडिया समूहले पनि सरकारबाट राहतकै रुपमा पाएको कोरोना सचेतना सन्देश वापतको रकमको बारेमा गलत प्रचार गर्ने प्रदेश सांसद केदार कार्कीलाई आफ्नो संसदकोषको रकम खर्च विवरण सार्वजनिक गर्न चुनौति दिएको छ । प्रदेश सरकारबाट प्राप्त रकम मापदण्ड अनुसार वितरण गर्दै महासंघले सार्वजनिक पनि गरेको बेला यसबारे गलत प्रचार गर्ने सांसद कार्कीले पारदर्शीता देखाउनुपर्ने समूहको भनाइ छ ।

समूहका मोरङ अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपिलियाले जारी गरेको विज्ञप्तिमा स्वरोजगारमुलक मिडियालाई प्रवद्र्धन गरेको विषयमा अर्नगल प्रचार गर्ने काँग्रेस सचेतक कार्कीको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]