रुकुम घटना विरुद्धको आन्दोलनमा झापाका राजनीतिक दलको ऐक्यवद्धता
बिर्तामोड । अन्तरजातीय पे्रम सम्बन्धका कारण पश्चिम रुकुममा भएको हत्याको घटना छानविन गरी कारवाही गर्न झापाका राजनीतिक दलले आव्हान गरेका छन् ।

आज विर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा झापाका प्रमुख राजनीतिक दलले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै यो आन्दोलनलाई साझा रुपमा अघि बढाउने बताए । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र राप्रपाका नेताले रुकुम घटना विरुद्धको आन्दोलनमा साथ दिने बताउँदै आन्दोलन नरोक्न सूझाव दिए । दलका नेताहरुले नवराज विक सहित हत्या गरिएका ६ जनाले न्याय नपाएसम्म आन्दोलन रोक्न नहुने प्रतिक्रिया दिएका छन् ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिले ‘जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवस’ का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जातीय विभेद्को असर सबै जातिलाई पर्ने बताएका छन् । उनले पश्चिम रुकुमको घटनालाई हेर्न सूझाव दिदंै भनेका छन्, त्यहाँ दलित युवा मात्र मारिएका छैनन्, त्यहाँ गैरदलित युवा पनि मारिए । जातीय विभेद् नेपाली समाजकै समस्या रहेकाले यसको अन्त्यका लागि सबै समुदायको एकता जरुरी रहेको पोर्तेलको भनाई छ । उनले भने – रुकुममा मान्छे मरेको हो भन्ने बुझाई भएको छैन । त्यहाँ त एउटा कामी मरेको भन्ने धारणा बनाइएको छ ।

दलित नेता समेत रहेका पोर्तेलले दलित समुदायमाथि विभेद्, हत्या जस्ता घटनामा सामाजिक अभियान्ता समेत चुपचाप रहेको आरोप लगाएका छन् । अहिलेसम्म अधिकारकर्मीको एउटा धारणा सार्वजनिक हुन नसक्नु विडम्बना भएको उनको भनाई छ । उनले जातीय विभेद्का कारण समाजमा यसरी नै अत्याचार भए ठुलो दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । प्रमुख पोर्तेलले तत्काल दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।
रुकुममा मान्छे मरेको हो भन्ने बुझाई भएको छैन । त्यहाँ त एउटा कामी मरेको भन्ने धारणा बनाइएको छ : पोर्तेल
नेकपा झापाका सचिव विजय साम्पाङले सामाजिक रुपमा रहेको जातीय विभेद् नेपाली समाजकै ठुलो समस्या रहेको बताए । उनले दलित जातिमाथि भइरहेको विभेद विरुद्ध नेकपा सधैं खवरदारी गर्दै आएको जानकारी दिए । उनले पार्टीका नेता कार्यकर्तालाई जातीय विभेद विरुद्ध खवरदारी गर्न आग्रह समेत गरे । रुकुमको घटनामा संलग्नलाई कानुनी कारबाही नगरेसम्म उनीहरुले न्याय पाउन नसक्ने धारणा राखेका थिए ।
यस्तै नेपाली कांग्रेस झापामा जिल्ला सदस्य जलकुमार गुरुङले रुकुम घटनाले नेपाली समाजको चित्रण गरेको बताएका छन् । उनले जातीय विभेद् हाम्रो समाजको सबैभन्दा ठुलो अपराध रहेकाले त्यसका विरुद्ध सबै प्रकारका आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहने बताए । गुरुङले सरकारले सो घटनामा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

राप्रपाका झापा सचिव केशव ओझाले विभेद् विरुद्धको आन्दोलन निरन्तर चलिरहनु पर्ने बताएका छन् । उनले यस प्रकारका संघर्षका कार्यक्रम एक दिन मात्र गरेर माग पुरा नहुने धारणा व्यक्त गरे । रुकुम घटना विरुद्ध भइरहेको आन्दोलनमा राप्रपाको ऐक्यवद्धता रहेको बताउँदै उनले दलितमाथि भइरहेको विभेद् रोक्न आव्हान गरेका छन् ।
कार्यक्रममा बोल्दै उत्पीडित विधार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले न्याय नपाएसम्म आन्दोलन सेलाउन नदिने चेतावनी दिए । मंग्रतीले रुकुम हत्या घटनामा सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनमा उत्रिने उद्घोष गरेका छन् ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक हुकुम नेपालीले जेठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनमा दलित समुदायले खुशीयाली मनाउन नपाएको बताए । खुशी मनाउने दिनमा पनि अझै विभेद् विरुद्ध आन्दोलन गर्नुपरेको बताउँदै उनले राजनीतिक दलले सामुहिक खवरदारी गरेमा विभेद अन्त्य गर्न सकिने बताएका छन् । दलित समुदायले अझै जेठ २१ लाई उत्सवका रुपमा मनाउन नपाएको दुखेसो पोखेका छन् । आजको दिन पनि कालो कफन बाँधेर मुक्तिको आन्दोलनमा लाग्नु परेको छ, नेपालीले भने – अब विभेद् विरुद्ध एकजुट भएर लागौं ।
सो कार्यक्रममा दलित नेता हस्त परियार, मानवअधिकारकर्मी डा.रुपक खनाल लगायतले सम्बोधन गरेका थिए ।