बैशाख २७, २०८२ शनिबार

विदेशमा अलपत्र नेपालीको भोलिदेखि उद्धार

झापा । सरकारले कोरोना भाइरस संक्रमणका कारण समस्या परेका नेपाली नागरिकलाई भोलि (शुक्रबार) बाट स्वदेश फर्काउन थाल्ने भएको छ ।

पहिलो पटक दुवई र बर्माबाट दुई सय बढी नेपालीको उद्धार गरिने भएको छ । भोलि वर्माबाट २६ नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने जनाइएको छ । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइ दिन लागेको स्रोतले जानकारी दिएको छ ।
यस्तै शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।

सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्‍याउने जिम्मा गुरुङले पाएका हुन् ।

विमानस्थलमा उत्रिएपछि उनीहरूलाई मन्त्री गुरुङसहित सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजाने छन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरूको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ ।

होल्डिङ केन्द्रमै उनीहरूको सबै व्यक्तिगत विवरण लिएर केहीबेर आराम गराएपछि मन्त्री गुरुङले त्यहीँबाट सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउने छन् ।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइ दिने नेपालीलाई ल्याउन लागिएको हो । युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ । यसको सूची युएईले पठाइसकेको स्रोतले जनाएको छ ।

यस्तै कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन् । आममाफी पाएका कामदारलाई कुवेतले नै फर्काइ दिने भएको छ । कुवेतबाट अन्य करिव ५ हजार बढी श्रमिक कम्पनी बन्द भएर फर्किनै पर्ने अवस्थामा रहेको श्रम मन्त्रालयले जनाएको छ । उनीहरुलाई फर्काउने मिति र विस्तृत तथ्यांक त्यहाँस्थित दूतावासले तयार गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]