झापाका बजार खुलाउन बन्यो कार्यदल
बिर्तामोड । झापाका सबै बजार खुलाउन आज कोरोना भाइरस संक्रमण रोकथाम , उपचार समन्वय तथा अनुगमन समिति , वाणिज्य संघका प्रतिनिधि र व्यवसायी बिच भद्रपुरमा छलफल भएको छ ।

व्यवसायीले निर्वाध रुपमा सबै व्यवसाय खुल्ला गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्ला स्तरीय समितिले केन्द्र सरकारको निर्देशनभन्दा विपरित बजार खोल्न नसक्ने जनाएको छ । समितिका संयोजक सोमनाथ पोर्तेलले सरकारको निर्देशन कार्यान्वयन गर्दै बजार खोल्न सकिने गरी तयार गर्न व्यवसायीलाई सूझाव दिएको बताए । झापा जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण जोखिमले बजार खोलिहाल्ने परिस्थिती नभएको बताएका छन् । उनले यो बेला सकेसम्म धैर्य गरेर आम नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
व्यवसायी र वाणिज्य संघका प्रतिनिधिबिच व्यापक छलफल पछि बजार खुलाउन आवश्यक मोडालिटी तयार गर्ने गरी कार्यदल बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा बनेको कार्यदलमा जिसस झापाका निमित्त प्रमुख गोपाल लिम्बू, बिर्तामोड नगरपालिकाका प्रशासन अधिकृत देवराज कार्की, व्यवसायीका तर्फबाट राजेन्द्र घिमिरे, जीत बहादुर कार्की र कुमार भट्टराई रहेका छन् । उनीहरुको कार्यदलले सरकारले तोकेको उधोग व्यवसाय सञ्चालन गर्न सम्बिधत उधोगसँग जोडिएका व्यवसाय समेत सञ्चालन गर्ने गरी मोडालिटी तयार गर्ने बुझिएको छ । सो मोडालिटी जिल्लास्तरीय समितिले अनुमोदन गरेमा बजार खुल्ने बताइएको छ । कार्यदललाई जेठ २७ गतेसम्मको समय दिइएको छ ।
छलफलका क्रममा सबै बजार खुलाउने र अत्यावश्यक बाहेकका व्यवसाय (भीडभाड हुने) खुल्ला नगर्ने गरी तयारी गरिएको छ । व्यवसायी जिल्लास्तरीय समितिलाई पूर्ण रुपमा बजार खुल्ला गर्न दवाव दिइरहेका छन् । सो मोडालिटी अनुमोदन भएपछि झापाका बजार खुल्ला हुने छ ।