किसानले माग गरेको ५५ वर्षपछि बन्यो कुलो
भद्रपुर । हडिया कृषक कुलो जल उपभोक्ता संस्था भद्रपुर–९ले ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न गरेको छ ।
भद्रपुर ९ साविक चन्द्रगढी वडा नम्बर ३,४, ५ र ९ का किसानको ४१० हेक्टर जमिनमा सिचाई पुग्ने गरी नहरको पहिलो चरणको कार्य सम्पन्न गरिएको हो । झण्डै २७ किलोमिटर लामो नहर निर्माण गरिने संस्थाका अध्यक्ष होमनारायण प्रधानले बताउनु भयो । अध्यक्ष प्रधानका अनुसार यसवर्ष एकसय ६० मिटरको काम भएको छ यो निर्माण कार्यको शुभारम्भ मात्र हो ।

भद्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद दाहालको नेतृत्वमा संस्थाका सदस्यहरु, स्थानीय नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुको संयुक्त प्रतिनिधि मण्डलले आइतवार सो कुलोको अनुगमन गरी यसवर्षको काम सम्पन्न गरेको जनाएको छ । भद्रपुर नगरपालिका वडा नम्बर ९ का किसानहरुले ५५ वर्ष अघिदेखि माग गर्दै आएका सिंचाई नहर निर्माण कार्यको बल्ल शुभारम्भ भएको छ । बाइस सालदेखि यो कुलो निर्माण गरिनु पर्छ भनी हामीले माग गरेका थियौं बल्ल काम शुरु भयो स्थानीय अग्रज व्यक्तित्व विष्णुप्रसाद शिवाकोटीले बताउनु भयो ।
फागुन १९ गते शुरु गरेर जेष्ठ १५ गते सो निर्माण कार्य सम्पन्न गरिएको संस्थाका सल्लाहकार चूडामणि मैनालीले जानकारी दिनु भयो । निर्माण कार्यको अवलोकन गरी हिसाव सार्वजनिक समारोहमा वडा अध्यक्ष रामप्रसाद दाहाल, नेकपाका नेता नरेश संजेल, नेकपा प्रदेश कमिटी सदस्य विष्णुप्रसाद शिवाकोटी, संस्थाका उपाध्यक्ष दिनानाथ उप्रेती र सचिव मानबहादुर थापाले कामको प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो ।