झापामा कोरोना संक्रमितको संख्या १ सय ३८ पुग्यो , बजार खुलाउन व्यापारीको दवाव
झापा । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । भारतमा अलपत्र नेपालीको उद्धार शुरु भएपछि प्रदेशमा संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । आइतवार मात्रै १० जना कोरोना संक्रमित प्रदेशमा थपिए ।
संक्रमित १० मध्ये २ जना झापा अर्जुनधारा – ९ का पुरुष हुन् । अहिलेसम्म झापामा १ सय ३८, मोरङमा १९, सुनसरीमा ४१, धनकुटामा ८, तेह्रथुममा २, संखुवासभामा २, भोजपुरमा ६, खोटाङमा ४ , सोलुखुम्बुमा १ र उदयपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा पहिलो पटक उदयपुरमा संक्रमण फेला परेको थियो ।
अहिले झापा प्रदेश १ को हटस्पट बनेको छ । संक्रमितको संख्या बढ्दै गएपनि व्यापारीले जोखिमको ख्याल नगरी बजार खोल्न दवाव दिइरहेका छन् ।