प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार बुधबार मोरङमा ८ जना, झापामा पाँचजना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।
मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन ।
झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको हो । गौरादहका संक्रमित महिला हुन् ।
उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
थप ६ जना घर फर्किए
प्रदेश १ का कोरोना जितेर घर फर्किनेको संख्या १२५ पुगेको छ । मंगलबार कोसी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२५ पुगेको हो । मंगलबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १९ जनाले कोरोना जितेका थिए । कोरोना जित्नेहरु मध्ये १० जना महिला छन् ।
संक्रमितहरुलाई कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा राखिएको छ।