बैशाख २५, २०८२ बिहीबार

कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने

काठमाडौँ । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी तथा विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण परीक्षा लिन नसकिएको उल्लेख गर्नुभयो । यो अवस्थामा विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने निर्णयमा सरकार पुगेको उहाँले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर यस पटकका लागि एसईईको परीक्षाको निकास निकालिने भएको छ ।

सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ । तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले परीक्षा लिने पुरानो परिपाटीमा परिवर्तन गरेको हो । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।

यस विषयको प्रस्ताव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । यसअघि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि चैत ६ गतेबाट सञ्चालन हुने गरी तयारी गरिएको एसईई परीक्षा चैत ५ गते रोक्ने निर्णय गरिएको थियो ।

यसपटक झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए । परीक्षाका लागि एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको थियो भने प्रश्नपत्र समेत सम्वद्ध स्थानमा पु¥याइएको थियो । तर अन्तिम समयमा आएर परीक्षा रोकिएको थियो ।

प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]