डिस्चार्ज भएर घर फर्किएका बिर्तामोडका संक्रमितलाई गाउँ प्रवेशमा रोक, स्कुलको मैदानबाट माग्दैछन् गुहार
रुँदै भने – म मरु कि बाँचु
बिर्तामोड । कोरोना उपचारपछि घर फर्किएका दिलीप दर्जीलाई गाउँ प्रवेशमा रोक लगाइएको छ । उनी उपचारपछि आजै डिस्चार्ज भएका थिए । उनलाई दिउँसो ४ बजे एम्बुलेन्सले चारपाने चोकमा ओरालेको थियो ।
झापा बिर्तामोड २ का दर्जी गत जेठ १३ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनको २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो । उपचारपछि गाउँ फर्किएका दर्जी साँझमा घर फर्कन नपाएको भन्दै इजलासको सम्पर्कमा आएका थिए । उनले आफ्नो घर नभएको र साइली भाउजुको घरमा बस्ने गरी फर्किएको जानकारी दिए । अस्पतालबाट हिड्नु पूर्व भाउजुलाई जानकारी गराएका थिए । भाउजुले उनलाई घरमा आउन भनेकी थिइन् ।
भाउजुको अनुमति पाएपछि घर लागेका दिलीपलाई भाउजुले फेरि घरमा नआउन जानकारी गराईन् । गाउँलेले घरमा आएर कोरोना उपचारपछि फर्किएका व्यक्तिलाई नराख्न धम्की दिएपछि उनी अहिले चारपानेस्थित बीर अमरसिंह माविको मैदानमा बसिरहेका छन् ।
बिर्तामोड २ को सोमबारेमा रहेकी भाउजुको घर जान नपाएका उनलाई सो विधालय आसपासका बासिन्दाले समेत तत्काल त्यो ठाउँबाट पनि गइहाल्न भनेको जानकारी दिए । भाउजुले फोन मार्फत बाटोमा केटाहरु ढुकेर बसेकोले घरतिर नआउन भनेकी छन् ।