झापामा ५ जनासहित थप २७३ जनामा कोरोना भाइरसको संक्रमण
बिर्तामोड । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो। त्यसमध्ये झापामा ५ जना संक्रमित थपिएका छन् । गौरीगञ्ज ३, शिवसताक्षी १ र बाह्रदशीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।