प्रदेश १ लाई कोभिड–१९ बाट मुक्त बनाइन्छ : मन्त्री घिमिरे
बिर्तामोड । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताएका छन्। प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज अनलाइन संवादमा उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारीरूपमा काम गरिरहेकाले आगामी चार महिनाभित्रमा कोरोनामुक्त बनाइने दाबी गरे ।
कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुमा सङ्क्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेले बताए ।
स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टिन अव्यवस्थित हुँदा त्यसभित्र बढी सङ्क्रमण फैलिएको उनले बताए । अव्यवस्थित क्वारेन्टिनलाई व्यवस्थित गरिँदै लैजाने बताउँदै उनले पार्टीका नेता कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न आग्रह गरे ।
नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको सङ्क्रमण समुदायस्तरमा नभएको बताउँदै जिल्लामा देखिएको ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण क्वारेन्टिनमा मात्रै देखिएको बताए । खोटाङका अध्यक्ष राम दङ्गालले क्वारेन्टिनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गरे । सङ्खुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरे र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टिनहरु व्यवस्थित गर्न सरकारलाई आग्रह गरे भने मोरङका सचिव गणेश उप्रेती ९सुशील०ले सङ्क्रमण बढी देखिएका स्थानमा पिसीआर परीक्षण बढाउनुपर्नेमा जोड दिए ।
यस्तै उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल, ताप्लेजुङका अध्यक्ष विजय वनेम, पाँचथरका अध्यक्ष राजकुमार भण्डारी र भोजपुरका अध्यक्ष प्रेम राईले जिल्ला अस्पतालहरुमा स्वास्थ्य सामग्री अभावको समस्या समाधान गर्नुपर्ने र कोरोनापछि आउने समस्या समाधान गर्ने बजेट र कार्यक्रम ल्याउन आग्रह गरे ।