मोरङमा शारीरिक दूरी कायम गरेर कक्षा सञ्चालनको तयारी
मोरङ – अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै मोरङका सामुदायिक विद्यालयहरुले शारीरिक दूरी कायम गरेर भएपनि कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।
विद्यार्थीको संख्या अनुसार हरेका कक्षाका विद्यार्थीलाई हप्तामा १/१ दिन भए पनि कक्षा कोठामा शारीरिक दूरी कायम गरेर विद्यालयमै पढाउने तयारी थालेका हुन् । ग्रामथानको सरस्वती नमूना माध्यमिक विद्यालयले आउँदो मंगलबारबाट कक्षा सञ्चालनको तयारी गरेको छ । सुरुमा हप्तामा एउटा कक्षाका विद्यार्थीलाई मात्रै बोलाएर शारीरिक दुरी कायम गरी कक्षा सञ्चालनको तयारी गरेको उक्त विद्यालयका प्रधानाध्यापक अशोक लुईंटेलले बताए ।

‘स्थानीय तहले विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइन प्राथमिक स्वास्थ्य केन्द्रमा सार्न लगाएर कक्षा सञ्चालनको तयारीमा छौं,’ उनले भने, ‘कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरुले अनिवार्य मास्क लगाएर आउनु पर्ने र विद्यालयले सेनिटाइजर र साबुन पानीको व्यवस्थापन गर्ने निर्णय गरेका छौं ।’ विपन्न, गरिब बालबालिकालाई विद्यालयले मास्कसमेत उपलब्ध गराउने तयारी गरेको लुईंटेलको भनाइ थियो ।
कक्षा सञ्चालनको तयारीका लागि अहिले दैनिक विद्यालय खोलेर गृहकार्यमा जुटिरहेको उनले बताए । ‘हप्तामा एक दिन विद्यालय आएका विद्यार्थीहरुलाई हप्ताभरिका लागि गृहकार्य दिन्छौं र उनीहरुको प्रश्नको उत्तर दिन्छौं,’ उनले भने,‘अर्को हप्तामा गृहकार्य गरेर आएपछि विद्यार्थीहरुको पुनः अर्को हप्ताका लागि गृहकार्य दिएर पठाउने नीति लिएका छौं ।’ केही दिन यसरी नमुना कक्षा सञ्चालन गरेपछि आएको नतिजाको आधारमा अर्को नीति बनाउने लुईंटेलले बताए ।
सार्वजनिक माध्यमिक विद्यालय जहदाका प्रधानाध्यापक अजय सिंहले बाल कक्षादेखि ६ सम्म तीन दिन र कक्षा ७ देखि १० सम्म तीन दिन गरी कक्षा सञ्चालनको तयारी गरिएको बताए । ‘हप्तामा तीन दिन कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुबीच शारीरिक दुरी कायम हुने र कक्षा सञ्चालनका लागि शिक्षकको पनि कमी हुँदैन,’ उनले भने, ‘अनलाइन कक्षाभन्दा हप्तामा तीन दिन पढाउने र गृहकार्य दिने नीति नै प्रभावकारी हुन्छ ।’
सहरी क्षेत्रमै इन्टरनेटको गुणस्तर खस्कँदा अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको अवस्थामा ग्रामिण क्षेत्रमा त्यो सम्भवन नै नहुने प्रअ सिंहको भनाइ छ । ‘गाउँका विद्यार्थीहरु इन्टरनेट, रेडियो, टेलिभिजनको समेत पहुँचमा छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले भन्दै आएको वैकल्पिक कक्षा सम्भव हुँदैन ।’
शैक्षिक संस्थामा रहेका क्वारेन्टाइन हटाउन दबाबः
विद्यालयहरुले कक्षा सञ्चालनको तयारी गर्न थालेपछि स्थानीय तहहरुले शैक्षिक संस्थामा सञ्चालन गर्दै आएको क्वारेन्टाइन हटाउन दबाब बढेको छ । प्रदेश १ को १४ वटै जिल्लास्थित ५ सय ३५ वटा क्वारेन्टाइनमध्ये ३ सय ९२ वटा शैक्षिक संस्थामा स्थापना गरिएको छ ।
जसमा ३ सय ८० वटा विद्यालय र १२ वटा क्याम्पस छन् । प्रदेशस्थित ५ सय ३५ वटा क्वारेन्टाइनमा कोरोना भाइरसको संक्रमण आशंकामा ४ हजार ३ सय ४७ जना बसिरहेका छन् । जसमध्ये शैक्षिक संस्थामा स्थापना गरिएको क्वारेन्टाइनमा ३ हजार ४४ छन् । प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमा वैकल्पिक कक्षा सञ्चालनका लागि ३ करोड विनियोजन गरेको छ ।
यस्तै विद्यालय सञ्चालन गर्ने वातावरण बनाउनका लागि शैक्षिक संस्थामा रहेको क्वारेन्टाइन हटाउन शिक्षक तथा अभिभावकहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक सञ्जय ठाकुरले भारत र तेस्रो मुलुकबाट आएकाहरुमा मात्रै संक्रमण पुष्टि भइरहेकाले शारीरिक दुरी कायम गरेर सुरक्षात्मक उपाय अपनाएर विद्यालय सञ्चालन गर्दा कुनै समस्या नहुने बताए । उनले यहाँका समाजका व्यक्तिमा संक्रमण नभएकाले सुरक्षात्मक उपाय अपनाएर कक्षा सञ्चालन गर्दा प्रभावकारी हुने बताए ।