मेची अभियानले बनाएको डिस्इन्फेक्सन टनेल प्रयोग बिहीन
बिर्तामोड । मेची अभियानले झापाका विभिन्न स्थानमा वितरण गरेको डिस्इन्फेक्सन टनेल प्रयोग विहीन भएको छ । सो अभियानले आफै निर्माण गरेको टनेल चर्चा गरिए जस्तो प्रयोगमा आउन सकेन ।

निर्माण शुरु गरे लगत्तै केहि स्थानमा निःशुल्क वितरण गरेको मेची अभियानले व्यापार गर्ने गरी उत्पादन थालेको थियो । निःशुल्क सहयोग गरेर सबैलाई आकर्षित गर्ने र व्यापार गर्ने अभियानको सोच सोचे जस्तो हुन सकेन । जिल्ला प्रहरी कार्यालय झापा , मेची अस्पताल र केहि इप्रकाहरुमा वितरण गरिएको डिस्इन्फेक्सन टनेल अहिले कार्यालय परिसरमा उभ्याइए पनि प्रयोग गरिएमा छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा पनि एक थान टनेल कार्यालय अगाडि राखिएको छ । व्यापारीले खरिद गरी मुक्तिचोकमा हिडडुल गर्नेहरुका लागि भनेर जडान गरिएको थियो । अहिले सो टनेल प्रयोग नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश थेवेले जानकारी दिए । उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डीआइजी इश्वरबाबु कार्कीले कार्यालय निरीक्षणमा आउँदा सो टनेल प्रयोग नगर्न भनेका थिए । स्वास्थ्यमा असर गर्ने भन्दै डीआइजी कार्कीले सचेत गराएको उनको भनाई छ । जिल्लाका अन्य प्रहरी कार्यालयमा जडान गरिएको टनेल पनि प्रयोग नगर्न डीआइजीले सचेत गराए थिए । डीआइजी कार्कीको निर्देशनपछि अहिले सुरक्षा निकायमा राखिएका सबै टनेल प्रयोग विहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले शुरुवातमा जस्तो सक्रिय रुपमा प्रयोग नगरेको जानकारी दिए । उनले टनेल प्रयोगबारे विभिन्न विवादित विषयहरु बाहिर आएपछि प्रभावकारी रुपमा प्रयोग नगरेको बताए । त्यसमा प्रयोग हुने केमिकल अभाव र बाहिरी चर्चाले प्रयोग घटेको कोइरालाको भनाई छ ।
मेची अभियानले ६ थान टनेल निर्माण गरेर जिल्लाका विभिन्न स्थानमा राखेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । उनले बिर्तामोडको ट्राफिक कार्यालय अगाडि राखेको टनेल बाहेक सबै प्रयोग गरिरहेको दावी गरे ।
मेची अस्पताल भद्रपुरका मेसु डा.पिताम्बर ठाकुरले विश्व स्वास्थ्य संगठनको प्रतिक्रियापछि टनेलको प्रयोग घटेको स्वीकार गरेका छन् । उनले शुरुआतमा जस्तो प्रयोग नगरेको जानकारी दिए । डब्लुएचओले त्यसमा प्रयोग गरिने औषधिका बारेमा प्रश्न उठाएपछि प्रयोग घटाइएको ठाकुरको भनाई छ । सामान्य हिसावले चल्दैछ, जसरी चल्नुपर्ने हो चलाइएको छैन, ठाकुरले भने ।
यस्तै, इप्रका काँकरभिट्टामा पनि टनेलको प्रयोग बन्द भएको हप्तादिनभन्दा बढि भइसकेको छ । इप्रका काँकरभिट्टाको कन्ट्रोलबाट सुस्मिता राइले दिएको जानकारी अनुसार अहिले टनेलको प्रयोग गरिएको छैन ।