बन्दको घोषणासँगै सुनसान बन्यो कनकाई
बिर्तामोड । कनकाई नगरपालिकाले पाँच दिनका लागि बन्द आव्हान गरेपछि सो क्षेत्र सुनसान बनेको छ । बजार क्षेत्र पूर्ण रुपमा सुनसान भएपनि भित्रि गाउँहरुमा सामान्य चहलपहल देखिएको छ ।

आइतवार एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनीमार्फत समुदायमा समेत फैलिएको आशंकामा नगरपालिकाले १३ गते शनिवार रातको १२ बजेसम्मलाई बन्दको आव्हान गरेको छ । सँगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले जोखिमलाई मध्यनजर गरेर संक्रमित महिलाको घर आसपासका १५ वटा घरलाई निगरानीमा राखेको छ । घर पहिचानका लागि नगरको स्वास्थ्य शाखाले रातो झण्डा गाडेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै आवश्यक कन्टेक्ट ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगरपालिका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले आग्रह गरेको छ ।
संक्रमित महिलाले आफ्नो बच्चालाई भेटेर चुम्मा गर्दै पैसा दिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।