कनकाईसहित देशभरका ठुला नदीको सतह बढ्दै, सावधान रहन आग्रह
झापा। मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले हुन अनुरोध गरेका छन् ।

सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । देशै भर मनसुनको प्रभावका कारण मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नसमेत मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज र भोलि प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुनेछ । तर पानीको सतह सतर्कता तहभन्दा तलै रहने छ । बिहीबारबाट भने कन्काई, कोशी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने जलविज्ञ सुनिल पोखरेलले जानकारी दिनुभयो ।
जलसतह सामान्य अवस्थाबाट सतर्कता तह नपुगे पनि सोही आसपास हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपानाउनुपर्नेछ, उहाँले भन्नुभयो ।
आज भने ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोटका स्थानीय नदीमा बहाव बढ्दो क्रममा रहेको छ । त्यस्तै काठमाडौँ उपत्यका, धादिङ, चितवन, तनहुँ, कास्की, स्याङजा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्यूठान, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुरका स्थानीय नदीमा पनि बहाव बढ्दो क्रममै रहेको छ । त्यसैगरी डोटी, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्नसक्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदिन मध्यमदेखि भारी वर्षा हुने सम्भावना औँल्याएको छ । ुपूर्वदेखि पश्चिमसम्म मनसुन फैलिसकेको छ, अहिले पूर्वमा वर्षा भैरहेको छ, पश्चिममा पनि तराइक्षेत्रसम्म नै वर्षा सक्रिय बनेको छु, मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो ।
यसअघि भएका वर्षाले सतहको माटो कमलो बनाइसकेको छ । त्यसैले अबको वर्षाले बाढीको खतरा बढाएको विज्ञहरू बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशको सबै प्रदेशहरूका अधिकांश स्थानहरूमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । त्यस्तै बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसदिन रातमा अघि पछि झैँ देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने भएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, प्रदेश ५, सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विपद न्यूनीकरणको तयारीमा प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली यतिबेला आसन्न बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्ती न्यूनीकरणको तयारीमा जुटेको छ । अहिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको नेतृत्वमा प्राधिकरणमा बैठक चलिरहेको छ । जसले आगामी कार्यदिशा तय गर्नेछ ।
विपद्का घटनाले बर्सेनि नेपालमा जनधनको नोक्सानी गर्दैआएको छ । त्यो क्षति कम गर्ने उपायका बारेमा बैठकमा छलफल चलिरहेको जनाइएको छ ।