बिर्तामोडको पाँचौ नगरसभा शुरु, १ अर्ब १५ करोडको बजेट सार्वजनिक
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले आजबाट सुरु गरेको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतरा प्रसाईंले उक्त बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा आगामी आ. व. ०७७/७८ मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ९ करोड, लागत सहभागिता १ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण २० करोड ४७ लाख, राजश्व बांडफांड ११ करोड १ लाख ७० हजार, सशर्त अनुदान ३७ करोड १ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण ८२ लाख ७ हजार, राजश्व बांडफांड १ करोड २५ लाख ६१ हजार, सामाजिक सुरक्षा १७ करोड, विशेष अनुदान ३ करोड, समपुरक अनुदान २ करोड गरी कुल १ अरब १५ करोड ४ लाख ८८ हजारको आय व्यय अनुमान प्रस्तुत गरिएको छ ।
जस अन्तरगत चालु खर्च रु. ३९ करोड ८१ लाख ८६ हजार र पूंजीगत खर्च ५८ करोड २३ लाख २ हजार तथा सामाजिक सुरक्षा वापत रु. १७ करोड गरी कुल जम्मा १ अरब १५ करोड ४ लाख ८८ हजारको व्यय हुने गरी प्रस्ताव गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ को (१) र (२) मा भएको व्यवस्था अनुरुप स्थानीय राजश्व परामर्श समिति, स्थानीय सरोकारवालाहरु, उद्योग वाणिज्य क्षेत्र तथा करदाताहरु समेतको सुझावका आधारमा राजश्व परिचालन गर्ने गरी आन्तरिक आयको अनुमान गरिएको छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बांडफांड, सशर्त अनुदान समेतलाई नगरपालिकाको आयको रुपमा पेश गरिएको छ । नगरपालिकाको प्रस्तावित बजेटलाई नीति तथा कार्यक्रमसँग आवद्ध हुने गरी बजेट विनियोजन हुने व्यवस्था मिलाइएको छ ।
चालु आ. व. ०७६/७७ मा आन्तरिक आम्दानी ११ करोड २७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ८ करोड, लागत सहभागिता २ करोड ८० लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण २० करोड ९६ लाख, राजश्व बांडफांड १३ करोड ८ लाख, सशर्त अनुदान २४ करोड ८२ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण ८२ लाख ९४ हजार, राजश्व बांडफांड १ करोड ५७ लाख २ हजार, सामाजिक सुरक्षा १० करोड गरी कुल ९३ करोड ३३ लाख ४६ हजारको आय व्यय अनुमान अनुमान प्रस्तुत गरिएको थियो ।